कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ । हास्य कलाकारसमेत रहेका सन्दीप क्षेत्री होस्ट रहेको उक्त कार्यक्रम टेलिभिजनले बन्द गरेको हो ।

टेलिभिजनले सम्पादकीय नीतिभन्दा बाहिर रहेकाले उक्त कार्यक्रम युट्युब च्यानलबाट हटाइएको पनि स्पष्ट पारेको छ । उक्त श्रृंखलामा सन्दीपले अभिनेता पल शाहसँग अन्तर्वार्ता गरेका थिए । उक्त श्रृंखलाको संवाद तथा प्रस्तुतिले पीडितलाई थप पीडा दिने काम गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।

“गत असार २३ गेत शनिबार प्रसारित हृवाट द फ्लपमा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं,” टेलिभिजनले भनेको छ, “महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ह्वाट द फ्लप कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।”

उक्त श्रृंखलामा प्रस्तोता सन्दीप र अतिथिका रूपमा बोलाएका अभिनेता शाहले जेलको बसाई, त्यहाँभित्रको अवस्था र कैदीको जीवन शैलीका विषयमा कुरा गर्दा मजाक गरेको आरोप उनीहरूमाथि दर्शक तथा सामाजिक सञ्जालका प्रयोगकर्ताले लगाएका थिए । उनीहरूको विषय, संवाद र प्रस्तुतिले पीडितलाई थप पीडा दिएको भन्दै चौतर्फी आलोचना भएपछि टेलिभिजन व्यवस्थापनले उक्त कार्यक्रम नै बन्द गरेको हो ।

चौतर्फी आलोचना भएपछि पलले रोष प्रकट गर्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । उनले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका थिए । आफूले कानुनअनुसार सफाइ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गर्दै लेखेका थिए, “मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?”

पलले अदालतबाट सफाइ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका थिए ।

“मलाई पल शाह बनाएको तपाईंहरूले हो । यस कारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?,“ उनले भनेका थिए ।

पल शाहसँगको संवाद रहेको उक्त श्रृंखलापछि अर्को एउटा एपिसोड पनि प्रशारण भएको थियो । जसमा किरण केसी र राजाराम पौडेललाई अतिथिका रूपमा बोलाइएको थियो ।

यद्यपि, उक्त कार्यक्रम बन्द भए पनि चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

यसअघि पनि सन्दीपले सोही नामबाट कार्यक्रम चलाउँदै आएका थिए । जहाँ उनी मिठाइलाल यादवको क्यारेक्टरमा प्रस्तोताका रूपमा आउँथे । उनको यो क्यारेक्टरले तराइबासी मधेसी समुदायको झल्को दिन्थ्यो । तर, उनको यो क्यारेक्टर र प्रस्तुतिले तराईबासीकै अपमान गरेको धेरैले टिप्पणी गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया