संविधान कार्यान्वयन गरी समतामूलक समाज सिर्जना गर्नु साझा दायित्व हो । कार्यवाहक प्रधानमन्त्री

 

काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्नुपर्ने बताएका छन् । सबैको साझा दायित्व समतामूलक समाजको निर्माण रहेको पनि खड्काको भनाइ थियो ।

संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताए । भौतिक पूर्वाधार निर्माणका साथै आर्थिक र सामाजिक समृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबैलाई समर्पण भावका साथ जुट्न उनले आग्रह गरेका थिए । ‘अबको हाम्रो कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय हो । त्यसैले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पण भावका साथ जुट्नुपरेको छ,ु उनले भने, ुसंविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जान जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गरी समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।ु

कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रुपमा परिचालन भएको बताए । उनले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखी नागरिकको हितमा जुट्न आह्वान गरेका थिए । ुसंविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरूलाई प्रभावकारी रुपमा परिचालन गरिएको छ । उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील छ,ु उनले भने, ुशिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग छ । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएका छौँ । यसमा आग्रह र पूर्वाग्रह नराखी नागरिकको हितमा जुट्न आह्वान गर्न चाहन्छु ।’
सरकारले स्वास्थ्य, पूर्वाधार एवं सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न सक्दो प्रयास गरिरहेको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ थियो । डेंगी रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि उनले जानकारी दिए । देशको पूर्वी पहाडी भूभागलगायत विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो जस्ता विपद्का कारण भएको जनधनको क्षतिमा तत्काल राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रदेश र स्थानीय तहको समेत समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताए ।
संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकताबद्ध हुन जरुरी रहेको पनि कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ थियो । उनले संविधान देशको मूल कानुन हुनुका साथै समाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको बताए ।

कार्यक्रममा राष्ट्रपति‚ उपराष्ट्रपति‚ प्रधानन्यायाधीश‚ राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको सम्बोधनको पूर्णपाठ

तपाईको प्रतिक्रिया