कालीकोटबाट आमाछोरा बेपत्ता

कालीकोट : कालीकोटको खाँडाचक्र १ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् ।

उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए । महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । खाना खाएर सुत्न कोठा गएका हुन् । सुवेदी होटलका संचालक नमराज सुवेदीले भने, पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । उनले थपे हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरु नै भएको रहेछ । उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका गरे ।

पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया