निजामती सेवा दिवस : डुङ्गेश्वरका कर्मचारीले गरे पेन डाउन, हातमा कालो पट्टी

दैलेख । निजामती सेवा दिवसको दिन दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् । एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै गाउँपालिकाका कर्मचारीहरूले दिवसको दिनमा विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर पेन डाउन गरेका हुन् । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले संयुक्त विज्ञप्तीमार्फत् कर्मचारीहरूले संघीय निजामती सेवा ऐन नभइ निजामती सेवा ऐन ल्याउनुपर्ने माग गरेका छन् । विज्ञप्तीमार्फत् कर्मचारीहरूले सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार संघीयताको मुटु मानिने स्थानीय तह मात्र हुने र बढुवामार्फत् प्रदेश र संघीय निजामती सेवामा जाने प्रावधान राखिनुपर्ने माग गरेका छन् ।

यस्तै सरुवा प्रणालीलाई सहमतिको आधारमा नभइ अनुमानयोग्य चक्रिय प्रणालीमा आधारित हुनुपर्ने,अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनुपर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीलाई समेट्नुपर्ने माग कर्मचारीको छ ।

यसैगरी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा,वृत्ति विकास र अधिकारमा विभेद नभइ समान हुनुपर्ने, एकीकृत निजामती सेवा बनाइ कर्मचारी संरचना एउटै बनाएर स्थानीय तहमा कार्यरत कर्मचारीबाट नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने विज्ञप्‍तिमा उल्लेख छ

तपाईको प्रतिक्रिया